सुन्तलाका बोट थाक्दैछन्, नाशपातीले पहिल्यै हार मानिसक्यो, ज्यामिरका फल निचरिईसके, रातभर पकाएर चुक पनि बनाइसकेँ। तोरीका फूल खै कता भागे, पधेँराको पानी अब भर्न निकै समय लाग्छ, आखिर समय पनि त रातको डरले अलि कम आउँछ।गहुँका हरिया फाँटहरूसँग बर्खाको कुनै छवि पनि त छैन, किन होस्, किन भइदेओस्। मलाई भइदेओस् भन्ने जाँगर पनि छैन, म दिनलाई सबेरै छोप्न दौडिनु छ। लामा रातको अन्त्यमा विश्वास गर्न थालेजस्तो पनि लाग्छ। मैले मिठो निन्द्रा पाउँछु भनेर आइदिएकी पो हुन् कि? मेरै लागि रात भागिदेलिन् जस्तो लाग्छ। चिरा पार्ने त्यो साँठबाट बचाउन आइदिएकी पो हुन् कि? खैर, यति नै सोच्ने भए आज त म हिँडिसक्थेँ, मलाई त खोला पारी शहर पुगेर आउनु थियो।
त्यो हिउँदको सुक्खा माटोमा खेल्दा खेल्दै फुटेका पैताला। त्यो चिसो खोलामा डुबाउँदै पाइला–पाइला चल्दै मलाई शहर पुग्नु छ। थाहा छैन के गर्ने, तर पुग्नु चाहिँ थियो। अब म पुगी पनि सकेँ। बर्खा भएको भए यति चाँडो पुग्दा पनि पुगिँदैन, माथि अनन्तसम्म पुगेर खोलाको मुहान माथिको चट्टान टेकेर आउनु पर्छ रे, म त गएको छैन, न त मेरा पिता, न त माता नै। हामी हिउँदमा मात्र शहर जान्छौँ, त्यही खोला तरेर। दुकान नै दुकान छन् त्यहाँ। मसँग खासै पैसा पनि छैन, केही किन्ने लाने पनि, तर हप्ताको एक दिन गइ नै राख्छु। धेरै जानेहरू बिस्तारै उतै बसाइँ सर्छन्, घर आउन अलि कम मन लाग्दो हो। आफू नै घर भइसके होलान्। मलाई त म घर भएँजस्तो पनि लाग्दैन। उताबाट पनि हिउँद नै कुर्नुपर्दो हो कि, उनीहरूको हिउँद अलि बढ्ता बिराएर, वर्षौंमा पो आउँछ कि। सधैँ वसन्त, बर्खा चलिरहँदो हो कि?
म न मेरा बुटा भेट्छु, न बारी नै, न मेरा सम्झनाहरू शहरका छन्, न मलाई शहरको नै छ, त्यही पनि शहर गइरहन्छु म। म नगइदिए उनीहरूले हिउँदका कथा कसरी बनाउँलान्, चिसो साँठका कथा, फुटेका ओठका कथा कसरी बनाउँलान् भनेर गइरहन्छु होला। म मेरी गण्डकीका छाल सुनाइदिन जान्छु, उनीहरूले म तरेर जाने खोलाको आवाज सुन्न पो सक्दैनन् कि?
हप्ताको एक दिन पनि अलि धेरै भयो, अलि कम गर्नुपर्यो भनेर हल्ला सुन्छु आजकल मैले। हामी शहर त रुचाउँछौं तर सङ्कोच चाहिँ रहिरहन्छ। बुढापाकाहरूको त ठूली सङ्कोच छ। शहर उनीहरूको लागि बजार मात्र होइन। हजुरबुवाले भन्नुभको धेरै पहिले, शायद हजार वर्ष पहिला बाह्रैमास खोला तर्न मिल्थ्यो रे। शहर पनि गाउँ नै थियो रे। "शहर" गाउँका मान्छे हाम्रो गाउँ, हाम्रा गाउँका मान्छे "शहर" गाउँ जानेआउने चलि नै रहन्थ्यो रे। एक दिन उनीहरूले आफ्नै पट्टि, उता पर नयाँ खोला भेट्टाएछन्, हाम्रो गाउँका पनि हेर्न गए रे। त्यो खोलाको पारी अर्को गाउँ देखिन्थ्यो पनि रे। उताबाट बोलेको सुनिन्थ्यो पनि रे, तर यताबाट बोलाउँदा कसैले सुन्न चाहिँ सुन्दै रहेनछन्। सायद भाषा भिन्दै हुँदो हो। उनीहरू खुट्टा नउचाली हिँडेको देखिन्थ्यो, आकाशभरि मान्छे नै उडेजस्तो पनि देखिन्थ्यो रे। "शहर" गाउँका मुखियाहरूलाई त्यो त भगवानकै गाउँ पो हो कि भन्ने लागेछ। पारी त जसरी नि जानुपर्छ भन्ने निधो पनि भएछ। तर पारी जान खोला तर्न लठ्ठो चाहिँदो भयो, आफ्नो गाउँको बाबियोले मात्र नपुगेपछि, उनीहरूले हाम्रो गाउँका मुखियासँग सहयोग मागेछन्।
आफ्नै भाइलाई भनेर, हाम्रो गाउँले आफ्नो जङ्गलको सबै बाबियो काटेर "शहर" गाउँलाई दिएछ, हाम्रा गाउँका तन्नेरीहरू लठ्ठो बाट्न अव्वल छन् भनेर उनीहरूलाई पनि पठाएछन्। दशौँ दिनमा त्यो बाटेर सकेपछि, खोला यो वारीपट्टि रुखमा लठ्ठो बाँधेर "शहर" गाउँका मुखियाहरू पारी पुगेछन्। उनीहरू फर्केपछि, हाम्रा गाउँका तन्नेरीहरूले पनि "हामीलाई पनि केही ल्याइदिनुभयो" भनी सोध्दा, "तिमीहरूलाई हामीले कुरा मिलाइसकेका छौँ, जाओ पारी गएर ल्याओ" भनेर पठाएछन्। उनीहरू लठ्ठो समातेर पारी पुगेपछि, यताबाट मुखियाहरूले लठ्ठो फुकाएर, आगो लगाइदिएछन्।
हाम्रो गाउँका मुखियाहरूले आफ्ना छोराछोरी खोई भनी सोध्न जाँदा, "शहर" गाउँ अब शहर भइसकेको रहेछ। उनीहरूको उत्तर दिने कोही थिएनन् रे शहरमा। उनीहरू निराश गाउँ फर्केपछि, गाउँमा वर्ष दिनको भाकल, पूजा लगाएपछि स्वयं क्षेत्रपालिनी प्रकट भएर, गाउँलाई जोगाउन खोलामा बाढी ल्याइदिइन् रे। बाह्रैमास खोला तर्न नमिल्ने बर्खा र वसन्त बनाइदिन्छु भन्दा, आफ्ना छोराछोरी फर्किपो हाल्छन् कि भन्ने आशमा एक मौसम हिउँद राखिदिन आग्रह गरेपछि अहिलेसम्म त्यही नै चलन चल्दै आएको हो रे।
हिउँद आएपछि आउने साँठ, त्यही तन्नेरीहरूको आवाज खोलाको चिसो पानीमा ठोक्किएर आएको होला। त्यो रातमा गएका तन्नेरीहरूको कथा, त्यसपछिका हरेक हिउँदे रातहरूले ल्याउँदाहुन्। मेरो हिउँदसँगको डर मेरो विरासत हो। म सायद अनायासै शहर मेरो गाउँको कथा खोज्न जान्छु होला। मेरा पैताला खोलासँग डराएर धुलोको बहानाले फुटेका होलान्। बसाइँ सरेर जानेहरू ती तन्नेरीलाई फर्केपछि आफन्तीको घर भईदिओस भनि गइदिएका होलान्। फर्किने बाबियोको लठ्ठो जले पनि, हात समातेर खोला तार्ने आश लिएर गएका होलान्।
Comments
Post a Comment